भक्तपुर । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरूको महान् पर्व बडादशैं तथा नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा दोस्रो भक्तपुर दशैं सस्तो व्यापार मेला–२०८२ आयोजना गर्ने भएको छ ।
मेला असोज ३ गतेदेखि असोज १२ गतेसम्म भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी फुटबल मैदान, हनुमानघाटमा हुने आयोजकले जानकारी दिएको छ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले मेलाले स्थानीय व्यापार, पर्यटन र सांस्कृतिक उत्थानमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
मेला आयोजना स्थलमा ५० भन्दा बढी स्टल रहने छन्। स्थानीय व्यापारीलाई न्यून शुल्कमा स्टल उपलब्ध गराइनेछ। मेलामा दैनिक उपभोग्य सामग्री, लत्ता–कपडा, खाद्यान्न, जुत्ता–चप्पल, अटोमोबाइल, कृषि औजार, हस्तकला सामग्री लगायतका सामान विशेष छुटसहित उपलब्ध हुनेछन्।
मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, डाँडाताल, नाव, मिनी बन्जी, वर्ल्ड्ली, मिकी माउस, ट्राम्पोलिन, स्करपियो लगायतका आकर्षण रहनेछन्। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको हास्यव्यङ्ग्य, नृत्य र गीत–संगीतका कार्यक्रमहरू प्रत्येक दिन प्रस्तुत गरिनेछ।
महोत्सवमा पत्रकारलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि रु ७० र विद्यार्थी का लागि रु ५० मा प्रवेश खुला हुनेछ। हरेक शनिबार विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।
आयोजक प्रतिष्ठानले मेलाको प्रचार–प्रसारमा सहयोग गर्न सबै सञ्चारमाध्यम र पत्रकार साथीहरूलाई आग्रह गरेको छ।














