भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल रामेछापबाट मनोनीत केन्द्रीय सदस्यहरूलाई भक्तपुरमा भव्य कार्यक्रमबीच स्वागत, बधाई र सम्मान गरिएको छ ।
कार्यक्रममा संघका रामेछाप इञ्चार्ज गणेश बज्र लामा, मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोगका उप–प्रमुख अमित कार्की, युवा विज्ञ परिषद्का उप–प्रमुख अरुण खड्का लगायत विशिष्ट युवा नेताहरूलाई सम्मान गरिएको हो ।
२०४७ सालमा स्थापना भएको राष्ट्रिय युवा संघ नेपालले हालै पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनपछि छुटेका विशिष्ट युवाहरूलाई मनोनयन गर्दै, युवा आन्दोलनमा योगदान पुर्याउँदै आएका प्रतिनिधिहरूलाई सम्मानित गरेको हो ।
कार्यक्रममा बोल्दै रामेछाप युवा इञ्चार्ज रविन्स लामाले युवाको योगदानबिना लोकतन्त्रको रक्षा सम्भव नहुने बताउँदै, “गुण्डागर्दी, अराजकता र निराशाको वातावरण चिर्दै जनताको सेवामा समर्पित हुन युवालाई प्रेरणा दिने उद्देश्यले यो सम्मान गरिएको हो,” भन्नुभयो ।
पत्रकार प्रेमध्वज लामाले मुलुकमा फैलिएको राजनीतिक निराशाको घेरोलाई चिर्ने आशाको केन्द्र युवाहरू नै भएको उल्लेख गर्दै, “युवाहरूलाई अघि बढाउँदै राष्ट्रिय पुनर्जागरणको बलियो सन्देश दिएको यो कार्यक्रम ऐतिहासिक हो,” भन्नुभयो ।
कार्यक्रममा विभिन्न दल, सङ्घसंस्था तथा समुदायका उल्लेखनीय सहभागिता रहेको थियो ।














