भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा लिई बस्दै आएकी सुर्खेत पञ्चपुरी नगरपालिका–८ निवासी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल आज बिहान घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा फेला परेका हुन्।
दुवै किशोरी दिदीबहिनी भएको पुष्टि प्रहरीले गरेको छ। प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाका अनुसार ती किशोरीहरू दुई हप्ता अघिमात्र उक्त डेरामा बस्न आएका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरू घरबाट भागेर आएको पत्ता लगाएको छ। घटनास्थलको मुचुल्का मृतकका आफन्त आउन बाँकी रहेकाले, उनीहरू आएपछि आवश्यक प्रक्रिया अघि बढाइने डिएसपी ढुङ्गानाले जानकारी दिनुभयो।
हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।














