चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्।
तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। ‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’ उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए। उनले ०६४ मा जनताले नै माओवादीलाई सिंहदरबार पठाएको भन्दै उनले कांग्रेस, एमालेप्रति कटाक्ष गरे। ‘हामीलाई ०६४ पछि कांग्रेस एमाले र राजामहाराजाले दयामाया गरेर सिंहदरबार पुर्याएका थिएनन्,’ उनले भने, ‘हामी अपराजय हौँ। कसैले जित्नै सकेन। नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले पनि माओवादीलाई दबान सकिँदैन भन्ने बुझेका हुन्।’
जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको दाहालको भनाइ छ। ‘जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए। तर यथास्थितिलाई तोड्नै पर्छ भने हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान सुरु गर्यौँ’ उनले भने।














