काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले ” साम्यवाद प्राप्त गरी विश्वभरी नै कम्युनिस्ट पार्टीको रातो झण्डालाई फहराउने सपना भएको बताएका छन् । उक्त पार्टीद्वारा सोमबार आयोजित शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सी ले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने साथै क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने घोषणा गर्दै जनताको सेवक बनेर काम गर्ने दृढता व्यक्त गरेका छन् ।
उनले “पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने भन्दै जनताले नयाँ चिज खोजिरहेको र जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए । उनले एक्लै-एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको भन्दै एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको उल्लेख गर्दै कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै बेपत्ता याेद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारी

बेपत्ता याेद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सहिद गाथामा आधारित बलिदान नामक पुस्तकका अधिकाङ्श सामग्रीमा सहिद महान छन्, उनीहरुको सपना पूरा गर्नेछौं, त्यसका लागि क्रान्तिको बाटोमा निरन्तर अघि बढ्छौँ भन्ने साझा निष्कर्ष रहेको बताए । मन्तव्यको क्रममा बरिस्ठ अधिवक्ता समेत रहेका भण्डारीले सहिद तथा बेपत्ता परिवारले नयाँ उर्जा र प्रतिबद्धताका साथ उनीहरुको सपना पूरा गर्ने अभियानमा योगदान पुर्याउनुपर्ने विचार राखे ।
सहिद परिवार समाज नेपालकी अध्यक्ष खुमा

कार्यक्रममा सहिद परिवार समाज नेपालकी अध्यक्ष खुमा सुवेदीले सहिदको रगत र उनीहरुका परिवारका आशुलाई उर्जामा बदलेर नै सहिदका सपना पूरा गर्न सकिने उल्लेख गर्दै सहिद परिवारले आफ्ना अभिभावक मात्रै खोजेका छैनन् उनीहरुको बलिदान र रगतको मूल्य खोजिरहेको बताइन् ।
घाइते योद्धा सुरेन्द्र महर्जन

सम्मान कार्यक्रममा घाइते योद्धा सुरेन्द्र महर्जनले आफ्नो अनुभूति व्यक्त गर्दै क्रान्ति जहिल्यै सोझो रेखामा होइन, दायाँबायाँ र बक्र रेखामा अगाडि बढ्छ, यो स्वभाविक छ, हामी क्रान्तिको निरन्तर यात्रामा छौं, समय र परिस्थिति अनुसार विभिन्न परिवर्तनकारी शक्तिलाई एकताबद्ध गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गरेर नै घाइतेहरुको सम्मान र सहिद तथा बेपत्ताहरुको सपना साकार हुने बताए ।
एकीकृत जनक्रान्तिको क्रममा सहादत प्राप्त गर्ने १५ सहिदहरुको जीवनीमा आधारित गाथाको विमोचन कार्यक्रममा सहिदहरुका सपना र आदर्शलाई साकार पार्न, नेपालको अधुरो क्रान्ति पूरा गर्न र समाजवादी व्यवस्था स्थापना गर्न महासचिव विप्लवले अन्तिम विजयसम्म क्रान्तिको नेतृत्व गर्नुपर्ने र आफुहरु निरन्तर साथ दिन तयार रहेको उनीहरुको त्यहाँ उपस्थित सम्पूर्ण सहिद परिवारहरुकाे भनाइ थियो ।














