काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) काे बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री लामिछानेले, ‘ सुशासन कायम र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जाेडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट आफूलाई नभएको बताएका छन् ।’
उनले अगाडि भने, ‘म पनि विशेष कार्यादेश लिएर आएकाे छु। यहाँहरूसँग त परिभाषित जिम्मेवारी छँदै छ। त्यसैले, आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गराैं।’
उनले प्रहरीमा सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ पर्याप्त ध्यान दिने वचन पनि दिएका छन् ।
नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न र बजेटकाे सिलिङ बढाउनतिर नभई पुनरवलोकन गर्न लाग्नुपर्ने उनको धारणा थियो ।
राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनकाे महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले राजस्व बढाउन सक्याैं भने गृहकाे बजेट क्रमशः ‘रिभ्यू’ हुने धारणा पनि राखे। देशकाे ढुकुटी बलियाे बनाउन सबैले इमान्दार प्रयास गर्नुपर्नेमा उनको जोड थियो।
बैठकपछि मन्त्री लामिछानेले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको बिदाइ पनि गरे। सचिव भट्टराईकाे हिजाे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा सरुवा भएकाे थियाे।














