पर्वत । विगत १६ वर्षदेखि बन्द रहेको पर्वतको मोदी गाउँपालिका अन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुंगाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।
विशेष गरी यहाँको ढुंगा घर छाउन,बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ । मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली र भुकताङलेमा माटेको लेकमा रहेको ढुंगा खानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सान बेहोर्नुपरेको छ ।
देउराली, क्याङ र भुकताङका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो । तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो ।
सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा पाँचवटा ढुंगा खानी छन् । ढुंगाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनको भनाइ छ ।
मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भइरहेको बताइन् । सुरुमा खानीसम्म सडकको पहुँच पुर्याउने योजना बनाएको बताउँदै सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग पहल समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ ।