काठमाडौं । सचिव बढुवा सिफारिस समिति द्वारा एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ ।
मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिस दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक छन् ।
दोस्रो नम्बरका मिश्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक र तेस्रो नम्बरमा सिफारिसमा परेका घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतकै खानी तथा भूगर्भ विभागका महानिर्देशक हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले अनिवार्य अवकाश हुन एक महिना बाँकी रहँदै पदबाट राजीनामा दिएसँगै सचिव पद रिक्त हुन पुगेको थियो । सोही पदका लागि तीन जनाको नाम सिफारिस भएको हो । अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्दैछ ।