काठमाडौं । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर बुधबार नेपाल भित्रिएको पशुसेवा विभागले जनाएको छ ।
नेपालगन्जको जमुनाहा नाकाबाट ती राँगाहरु नेपाल भित्र्याइएको विभागका महानिर्देशक डा.उमेश दाहालले जानकारी गराएका छन् ।
‘भारतसँगको सहमतिअनुसार मिति २०८०–०८–०६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै उक्त राँगाहरु नेपाल भित्रिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विद्यमान क्वारेन्टाइन प्रक्रिया पूरा गरी नेपाल ल्याइने राँगाहरु लाहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयहरुबाट हाल उत्पादन भइरहेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७,राष्ट्रिय पशु प्रजनन् लाहानमा ५ र नेपालगन्जमा ३ वटा राखिने छ ।’
उनका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।