१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

महंगीको असर : दसैँमा गाउँ फर्किनेको संख्या घट्दो

काठमाडौं । नेपाली बजार महँगिएर आकाश छोएको छ । गत वर्षको तुलनामा यस वर्ष महँगीको लौरो नेपालीको ढाँडमा दोब्बर भएर बज्रिएको छ । महँगी र बेरोजगारीको चपेटामा परेका नेपालीको घर आँगन यति बेला चाडबाडले छोपेको छ ।

हिन्दु नेपालीको महान् चाड दशैं सकिन लाग्यो । आम नागरिकले महँगीमै किनमेल गरे । दसैँ सकिनै लागे पनि पहिलोजस्तो उल्लासमय रौनक छैन ।

महँगीका कारण राजधानी लगायत विभिन्न सहरमा बस्दै आएकाहरू घर फर्कन सानोतिनो खर्चले पुग्न नसक्ने अवस्था रहेन । महँगिएको बजार र चाडबाडमा बढेको सवारी भाडा जोहो गर्न नसक्दा कतिपय मानिस चाहाना हुँदा हुँदै दसैँ मनाउनबाट घर गएनन् । त्यसको प्रमाण हो, यसपालिको दसैँमा राजधानी काठमाडौँमा मानिसको चहलपहल धेरै हुनु ।

सरकारले देशको आर्थिक स्थिति सुधारका लागि वर्षेनी विभिन्न नीति लिने गरेको छ । तर सरकारको कुनै पनि नीतिले नेपाली जनताको स्थितिलाई परिवर्तन गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षमा बस्तुको मूल्य वृद्धि ६ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेका थियो । गत भदौमा मुलुकको मूल्यवृद्धि दर औसत ८.१९ प्रतिशत छ । यो पछिल्लो १० महिनायताकै उच्च हो ।

मरमसला, चिनी तरकारी दूध, मनोरञ्जन, घरायसी उपकरणलगायतको मूल्य बढेपछि गत भदौमा समग्र मूल्यवृद्धि ८ प्रतिशतभन्दा माथि पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औँल्याएको छ ।

मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने हिन्दुहरूको सबैभन्दा ठूलो पर्वको रूपमा मनाउँदै आएको दसैँ यस पटक महँगीको मारमा परेको छ । यस वर्षको दसैँमा अघिल्लो वर्षमा जस्तो बजारमा भिडभाड भएन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडकभडक छैन ।

दसैँको बेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम भएको व्यापारीहरू बताउँछन् । एक त सबै सामान महँगो भएको छ भने अर्कोतर्फ चाडबाड मनाउन मानिसलाई खर्चको जोहो गर्न कठिन भएको छ ।

बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैँ आर्थिक सङ्कटले झेलिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु महँगिँदै जाँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन् ।

चाडपर्वमा अत्यधिक खपत हुने वस्तु दाल, चामल, तेल, लत्ताकपडा, खसी बोका तथा च्याङ्ग्राको मासुको मूल्य बढेकाले दसैँ महँगिएको हो । अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।

यसरी अस्वाभाविक रूपमा मूल्य वृद्धि हुनुको कारण कालोबजारी पनि प्रमुख कारण हो । चाडबाडको बेला व्यवसायीहरूले चिनी, तेल, मसला लगायत दैनिक उपभोग्य बस्तुको कालोबजारी गरी मूल्य बढाएका छन् ।

चाडबाड नजिकिएसँगै बजार मूल्य हस्तक्षेप गर्ने उद्देश्यले सरकारले संयुक्त बजार अनुगमन टोली खटाएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि विभाग, कृषि विभागलगायतले संयुक्त अनुगमन गरेका थिए । खाद्य प्रविधिले छुट्टै पनि अनुगमन गरेको थियो । तर पनि सर्वसाधारणले अनुगमनको प्रत्यक्ष अनुभूति गर्न सकेनन् ।

त्यसको एउटा उदाहरण हो, चिनी  । उद्योगी व्यवसायीको चङ्गुलमा परेर सरकारले समयमै सहुलियत चिनी आयात गर्ने निर्णय नगर्दा बजारमा चिनी भेटिएन । चाडबाडमा अभाव हुने आकलन गर्दै साल्ट ट्रेडिङले सहुलियत मूल्यमा ६० हजार टन आयातको माग गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिनी आयातका लागि पत्र पनि पठाएको थियो । तर अर्थले सहुलियतको चिनी आयातमा चासो दिएन । बजारमा अभाव हुन थालेपछि भदौ अन्तिममा २० हजार टन आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुट दिने जनायो  ।

अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्टले १० र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मा पाएका थिए । तर त्यो पनि दसैँ अगाडि आउन सकेन, तिहारअघि आउने छाँट छैन ।

केही महिनाअघि व्यवसायीले कृत्रिम अभाव गराएर अचाक्ली मूल्य बढाए पनि पछिल्लो समय तिनैको गोदाम पनि रित्तिएको छ  । चिनी अभावका कारण कुनै पसलमा पाइए किलोकै १ सय ५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

चिनी मात्र होइन, भान्सामा प्रयोग हुने जिरा मसलालगायतको मूल्य बढ्दा सरकारले बेवास्ता गरिरहेको छ  । रहर दाल, केराउ, जिरा, चनालगायत वस्तुमा मूल्य बढको व्यापारीहरू बत्ताउँछन्  । एक महिनाअघि प्रतिकिलो साढे ४ सय रुपैयाँ रहेको जिराको मूल्य १३ सयसम्म पुगेको छ  । रहर दालको भाउ पनि दुई सातामै किलोको ३०र३५ रुपैयाँ बढेर २ सय ७५ सम्म पुगेको व्यवसायी बताउँछन् ।

सरकारले केराउ आयातमा बन्देज गरे पनि बजारमा भने प्रशस्त पाइन्छ । खुला सीमाका कारण चोरी तस्करी भएर केराउ आयात भइरहेको छ ।

दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्ने क्रम कायमै रहेको छ । आलु, गोलभेँडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ ।

दसैँ भन्ने बित्तिकै बच्चाहरूमा नयाँ लुगा लगाउने, मिठो खाने मामा घर जाने भन्ने छुट्टै रौनक छाउने गरेको छ । अहिले बच्चाहरू मात्र नभई सबै जसोले दसैँमा नयाँ कपडा किन्ने प्रचलन बढ्दो छ । यसरी बढ्दो महँगी र समाजको परिवर्तित प्रचलनलाई सन्तुलन बनाउँदै चाडपर्व मनाउन नेपालीको चुनौती बनेको छ । यो समाचार दृष्टि न्युजमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?