पाल्पा। पाल्पाको रानीमहल नजिकै आइतबार साँझ भएको गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
बेलुकी ५ बजे तिर पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो ।
मृतकहरू ६५ वर्षीय कृष्णबहादुर लोहनी, ५५ वर्षीय चुना धिताल, ३५ वर्षीय सविना धिताल, ५५ वर्षीय पार्वती लोहनी, ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेहरूको नाम खुले पनि ठेगाना खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।
दुर्घटनामा परी जिपका चालक ईश्वरबहादुर लोहनी गम्भीर घाइते छन्। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले जानकारी दिए।
पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जिप बराङ्दी खोलाको खोंचमा झरेकाले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो।
सडकबाट झन्डै एक सय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। मृतकहरूको शव खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।
कतिपय मृतक गाडीले चेपिएको अवस्थामा रहेकोले प्रहरीलाई उद्धारमा समय लागेको थियो।
दुर्घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ भने रानीमहलबाट फर्किएको डेढ किलोमिटरको दुरीमै जिप दुर्घटनामा परेको थियो।



