काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नीतिगत भ्रष्टाचारमा मुछिएका छन् । हमालविरुद्ध कम्पनीहरु आफैँले जथाभावी मूल्य राखेर ल्याएको महँगो प्रिमियमको आइपिओलाई स्वीकृत गरेको आरोप लागेको छ ।
‘बुक विल्डिङ’ प्रक्रियालाई पछि धकेलेर कमजोर कम्पनीलाई चर्को प्रिमियममा आइपिओ ल्याउने कार्य गरेपछि हमाल गम्भीर विवादमा तानिएका हुन् । संस्थागत लगानीकर्तालाई सूचीकृत गर्दा क्रस होल्डिङ रहेन रहेको विषयसमेत पत्ता लगाउनसमेत नसकेको आरोप हमालमाथि छ । घोराही सिमेन्टलगायतका प्रिमियम आइपिओमा अनियमिता भएको प्रश्न उठेपछि उनी अप्ठ्यारोमा परेका हुन ।
बोर्ड स्रोतका अनुसार सिमेन्ट प्रकरणको विवाद थाँती रहेकै बेला पुनः हिमालयन रिइन्स्योरेन्सको अर्को प्रिमियमको ठूलो आइपिओ स्वीकृत गर्ने भित्री तयारी भइरहेको छ । यी दुबै कम्पनी एउटै समूहको नाममा छन् । यसरी प्रिमियमको आइपिओ स्वीकृत गराउनेमा अस्वभाविक चलखेल बाहिरिएपछि यतिबेला हमाल जोगिन शक्तिकेन्द्रकहाँ घरदैलो चलाइरहेका छन् ।
बोर्डले २०७७ समा बुक विल्डिङ निर्देशिका जारी गर्दै गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ वटा योग्य संस्थागत लगानीकर्तालाई मान्यता दिइसकेको अबस्थामा चलखेलमार्फत फेरि थप्न खोजेको आरोप छ । घोराही सिमेन्टले मात्र प्रिमियमको आइपिओ बेचेर सर्वसाधारणबाट साढे चार अर्ब उठाएको बताइन्छ ।
यस्तै, सोनापुर मिनरल्स नामक अर्को सिमेन्ट कम्पनीले पनि हमालकै स्वीकृतिमा साढे तीन अर्ब बजारबाट उठाइसकेको तथ्य जानकारीमा आएको छ । कतिपय राम्रा र दक्ष कम्पनीले साँठगाँठमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिए हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने चेतावनीसमेत दिएका छन् ।
नीतिगत भ्रष्टाचारको आरोपमा मुछिएपछि प्रिमियममा आइपिओ स्वीकृत गर्ने एकल अधिकार आफूमा नरहेको बताउँदै हमाल पन्छिन खोजेका छन् । योग्य एवं राम्रा कम्पनीहरुलाई सेयर बजारमा ल्याउन र उनीहरुले बिक्री गर्ने मूल्य निर्धारण गर्न बुक बिल्डिङको विश्वव्यापी प्रक्रिया मिचेर निजी लाभमा स्टक एक्सचेन्जको लाइसेन्स वितरणको भित्री तयारी थालिएपछि नीतिगत भ्रष्टाचारको प्रश्न उठेको हो ।
लामो समयसम्म थाइल्याण्डमा त्यहाँको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका व्यापारी हमाललाई आरजु राणा देउवाको निगाहामा बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । यसअघिका अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको गम्भीर आरोप लागेपछि रिक्त पदमा हमाललाई ल्याइएको थियो ।
राजनीतिक शक्तिकेन्द्र र व्यापारिक घरानिया तथा बिचौलिया दीपक भट्टको सिफारिस र आरजुको दबाबमा अर्थमन्त्री जनार्दन शर्माले हमालको नियुक्ति गरेका थिए । नियुक्तिकै बेला पनि प्राथमिक सेयर,आइपिओ,ऋणपत्र,बुक बिल्डिङलगायत विषयमा रकम असुलीको विवादमा प्रश्न उठेको थियो ।
दृष्टि न्युज बाट