काठमाडौं । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।
यही असोज १ देखि २५ गतेसम्म विभागले काठमाडौँ उपत्यकाभित्रका दैनिक उपभोग्य खाद्यान्न, माछामासु,औषधि तथा तरकारीजन्य छ सय ७९ व्यावसायिक फर्मको अनुगमन गरी एक सय ७७ फर्मलाई विभिन्न कसुरमा कारबाही गरेको छ। विभागले गैरव्यावसायिक क्रियाकलाप गर्ने ती फर्ममाथि कारबाही गरी रु ५४ लाख ६७ हजार जरिवाना तिराएको छ।
यस्तै एक सय ८५ फर्मसँग थप कागजात माग तथा दुई सय ९३ फर्मलाई व्यावसायिक सुधारका लागि निर्देशन दिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए। विभागले अनुगमनका क्रममा कुलेश्वरबाट जफत गरेको ७० हजार मेट्रिकन चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियत दरमा बिक्री गरिरहेको छ । उक्त चिनी साल्ट ट्रेडिङले प्रतिकिलो एक सय एक रुपैयाँ ५० पैसामा खरिद गरी सुपथ मूल्य पसलमार्फत प्रतिकिलो रु ९७ मा बिक्री गरेको हो ।
रासस