अत्तरिया । कैलालीको अत्तरियामा भइरहेको लोटस आई कप अन्तरविद्यालय स्तरिय क्रिकेट प्रतियोगीताको फाईनलमा कञ्चनपुरको ज्योती इंगलिस बोर्डिङ स्कुल र कैलालीको सैनिक आवाशिय महाविद्यालय फाइनल म्याचमा पुगेका छन् ।
२४ गते भएको सेमिफाईनल खेलका विजेता उक्त दुई विद्यालयका खेलाडीले उपाधीका लागि २६ गते फाइनल प्रतिष्पर्धा गर्ने भएका छन् ।
बुधबार भएको पहिलो सेमिफाईनल खेलमा दुर्गालक्ष्मी नमुना माविलाई ६ विकेटले पराजित गर्दै सैनिकले फाईनलको यात्रा तय गरेको थियो । भने सोही दिन भएको दोस्रो सेमिफाईनल खेलमा जित हात पार्दै ज्योतीले फाईनलको यात्रा तय गरेको हो ।
सेमिफाइनलमा ज्योतीले कञ्चनपुरको कञ्चनजंगा माविलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर फिल्डिङ रोजेको ज्योतीले १२२ रनको लक्ष्य पाएको थियो । भने उक्त लक्ष्य ज्योतीले अन्तिम ओभरमा भेट्टाउन सफल भएको हो । त्यसअघि व्याटिङ गरेको कञ्चनजंगाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो । कञ्चनजंगाका दिपेश बमले ३३ रन बनाएका थिए भने भुवन बमले २२ रन बनाए । ज्योतीका आशिष ताम्राकारले ३ र प्रकाश बोगटीले २ विकेट लिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका ज्योतीका नविन ताम्राकार म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।
अत्तरिया क्रिकेट क्लबको आयोजनामा गरिएको उक्त प्रतियोगीताको फाईनल खेल यही असोज २६ गते विहान ११ बजेदेखी शान्तिपुरको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
टि–२० फम्र्याटमा सञ्चालन भैरहेको प्रतियोगीतामा प्रथम हुने टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५/५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।