दार्चुला । दार्चुलामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिकाको खलंगाबाट दुहु गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको से.१ ख १२५२ नम्बरको मिनि ट्रक बिहीबार बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि दुहु गाउँपालिका–३ ब्रहमदेब बस्ने अन्दाजी बर्ष ४५ का करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुला–तिन्कर सडक अन्तर्गत दुहु गाउँपालिका–३ राताकाठामा दुर्घटना भएको हो । ओभर लोड भएकाले ब्रेक फेल हुँदा ट्रक दुर्घटनामा परेको हो । ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खसेको छ । सवारी चालक भने फरार छन् । घटनास्थलमा प्रहरी खटिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।