कञ्चनपुर , भदौ ३० : कञ्चनपुरमा सडकमा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले चालकहरुले लागू औषध सेवन गरे नगरेको जाँच गर्न सुरु गरेको छ । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर , जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त सहकार्यमा सवारी चालकहरुले लागू औषध सेवन गरे नगरेको जाँच गर्न सुरु गरेको हो ।
शनिबार ट्राफिक प्रहरीले जिल्लाको महेन्द्रनगर बजार चम्मन् चोकमा गाडी चालकहरुलाई रोकी लागू औषध सेवन गरेको संका लागेको व्यक्तिलाई चेकजाँच गर्ने अभियानको थालनी गरिएको छ । ट्राफिकले किटको माध्यमबाट उक्त चेकजाँच गरिरहेको छ । अहिले सवारी चालकहरुले पनि प्रायः लागू औषध सेवन गरेको पाइएकोले त्यसको रोकथामको लागि र सवारी दुर्घटना कम गर्न लागू औषध सेवनको जाँच गर्ने किटको माध्यमबाट चेक भइरहेको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले बताए । अहिले चाडबाडको समय पनि नजिकिदै छ र यस्ता समयमा चालकको लापर्बाहीका कारण दुर्घटना निम्तिने खतरा बढी हुने भएकाले पनि चालकलाई सचेत गराउनु पर्ने कुरामा उनले जोड दिए । किटमा कुनै चालकको लागू औषध सेवन गरेको पोजिटिभ देखिएमा आबस्यक अनुसारको परामर्श दिने र कानुन बमोजिम कार्यवाहीको प्रक्रिया अगाडि बढाउने समेत ट्राफिक प्रहरी प्रमुख विकले भने ।
यस्तै मन्त्र अस्पतालका मेडिकल डाइरेक्टर गोविन्द रोकायाले ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरलाई लागू औषध सेवन जाँच गर्ने २५ वटा किट हस्तान्तरण गरेको बताए । उनले भने ,“ सवारी चालकहरुले लागू औषध सेवन गरी गाडी ,मोटर चलाउदा त्यसबाट दुर्घटना हुने सम्भावना हुन्छ साथै मानवीय स्वास्थ्य बिग्रने पनि ठूलो सम्भावना हुन्छ त्यसको कम गर्न अस्पतालको तर्फबाट सकारात्मक सहयोग गर्ने छु ।”
तिनै निकायले सुरु गरेको लागू औषध सेवन चेकजाँच अभियान एकदमै सही रहेको गाडी चालक करन बुढाऐर ले बताए । यस्तो अभियान राम्रो रहेको र आगामी दिनमा निरन्तर चल्नुपर्ने उनको माग थियो ।
ट्राफिक प्रहरीले गरेको उक्त चेकजाँचबाट ३ जना पोजिटिभ देखिएका थिए । पोजिटिभ देखिएकहरुलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरले पहिलो चोटिलाई सम्झाई बुझाई गरी परिवारको जिम्मा लगाई छोडी दिएको वडा प्रहरी प्रमुख याम बहादुर मल्लले बताए ।
यस अघि सडकमा मादक पदार्थ सेवनको मात्र चेकजाँच हुने गरेको थियो ।