केशव भण्डारी ,डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका–५ चुल्ल र सिराड जोड्ने सिराड खोलामा झोलुङ्गे पुल नहुँदा काठे पुलको भरमा विद्यार्थी विद्यालय जान बाध्य छन्।
कक्षा ८ सम्म चुल्ल गाउँमै भागेश्वर आधारभूत विद्यालय भएपनि मावि तहको शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थीहरूलाई सरस्वती मावि बागरकोट वा सारदा मावि सिराड जानुपर्ने बाध्यता रहेको छ।
सरस्वती मावि बगारकोट जान कम्तीमा डेढ घण्टा लाग्ने गर्दछ। तर चुल्लबाट सिराड दूरी छोटो हुँदा प्रायः जसो विद्यार्थी सारदा मावि सिराडमै पढ्ने गर्दछन्।
खोलामा झोलुङ्गे पुल नहुँदा वर्षातको सयमा विद्यार्थीलाई विद्यालय पठाउन निकै पिरोलो हुने गरेको स्थानीय जानकी लोहारले बाताइन्। उनले दुखेसो पोख्दै भनिन्, ‘छोराछोरीलाई स्कुल पढाएको दिन निकै पिरोलो हुन्छ, दिनभरी छोराछोरी कति खेर आउँलान् भनेर बाटो ढुगेर बस्ने गर्छु।’
यसका साथै सरकारी कागजात र वडाको सिफारिस बनाउन पनि सिराड नै जानुपर्ने बाध्यता त्यहाँका स्थानीयको छ। वर्षातको सययमा तुरुन्तै गर्नुपर्ने कार्य दिनहुँ लाग्ने गरेको र यसमा स्थानीय सरकारले चासो नदिँदा झनै सास्ती झेल्नुपरेको अर्का स्थानीय दुर्गा जोशीले बताए।
वर्षातको सयमा नियमित विद्यार्थी विद्यायालय जान नपाउँदा पढाइमा समेत बाधा भएर परीक्षाको समयमा पास हुन पनि धौधौ पर्ने गरेको विद्यार्थी सुवास भट्टले बताए।
भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले सिराड खोलामा दुईवटा पुल आवश्यकता रहेकाले एउटाको डिपिआर आगाडि बढिसकेको बताए। उनले अर्को पुलका लागि छिट्टै प्रक्रिया अगाडि बढाउने जिकिर गरे ।