काठमाण्डाै । नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिएका छन् ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्तामा लु ले एमसीसी कार्यान्वयनमा जोड दिनुभका हुन् ।
अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायकमन्त्री लु नेपाल आएको स्रोतले जनाएको छ । यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आएका थिए । त्यही वर्षको फागुन १५ गते एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको थियो ।
लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण तथा गाडी खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालले जनाएको छ ।