कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा च्याउ टिप्ने क्रममा पाटे बाघको आक्रममा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डा बस्ने २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन् ।
उनी बिहीवार च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रममा परी घाइते भएको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसन रानाले बताए। वडा अध्यक्ष रानाका अनुसार करिब १०/१२ जना महिलाको समुह च्याउ टिप्न गएका बेला पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो। सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ । उनको आँखा र टाउको पछाडि गम्भिर चोट लागेको स्थानीय प्रेम चन्दले बताए । उनको अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।