काठमाडौं—शुक्रबारका दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेकपा एमालेले बैठक सञ्चालन गर्न नमानेपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित गरिएको हो ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा सदन अवरुद्ध गर्दै आएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।
एमालेकै अडानका कारण आजको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस्तै, राष्ट्रियसभाको अर्को बैठक पनि असार २४ गते बोलाइएको छ ।














