काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीमाथि निशाना साँधेका हुन् ।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनले दाबी गरेका छन् । प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए।
सभापति लामिछानेले राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए।
उनले समाजवादी मोर्चा के हो भनेर समेत प्रश्न गरे ।
‘सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो। सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं। यो चाँही मोर्चा बनाएको थाहा पायौं। मोर्चामा सरकारमै सहभागी दलहरु छन। अब यो के हो ? बुझ्न जरुरी भयो।’ उनले भने, त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकार भित्रै सहभागी दलहरु मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरु ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ।














