कैलाली , २५ जेठ । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै भइरहेको संघर्ष चर्किदै गएको छ । आन्दोलनकारीले जिल्लाको अत्तरिया बजार क्षेत्रमा स्वस्फूर्त र शान्तिपूर्ण बन्द गरेका छन् । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनको माग राख्दै गठित संघर्ष समितिको आह्वानमा बजार बन्द गरिएको हो ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले गोदवरी नगरपालिका क्षेत्रका जनता स्वस्फूर्त रुपमा बन्दमा सहभागी भएको बताएका छन् । उनले गोदावरी नगरपालिकाका कर्मचारीले समेत बन्दलाई समर्थन गर्दै सेवा प्रवाह बन्द गरेको बताए । अहिले अत्तरियाका सबै उद्योग र व्यवसाय बन्द छन् तर सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा रहेका छन् ।बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजेसम्म जारी रहने पाण्डेयले बताए ।
संघर्ष समितिले सरकारले गत वर्ष २९ माघमा मन्त्रिपरिषदबाट निर्णय भएअनुसार गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन चर्काइरहेका छन् ।
५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा पनि विश्वविद्यालय नै बनाउने उल्लेख थियो । तर, १५ जेठमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा भने गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उल्लेख भयो ।
संघर्ष समितिले आन्दोलनलाई थप कडा बनाउन कार्यक्रम तय गरिरहेको पाण्डेयले बताएका छन् । अर्थमन्त्रीको बजेट वक्तब्यपछि धनगढीमा आन्दोलन सुरु भएको हो ।














