काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम सुरु भइसकेको जानकारी दिनुभएको छ। परिमार्जित पाठ्यपुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो।
सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहद्वारा बिहीबार राजधानीमा आयोजित ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले पाठ्यपुस्तक लेखन प्रक्रियामा सरोकारवाला पक्षसँग छलफल गरिने, लेखकहरूलाई अभिमुखीकरण दिइने र विविधताभित्र एकता खोजिने अभ्यास गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार पाठ्यपुस्तकमा राष्ट्रियता प्रवर्द्धन, नागरिकको भूमिका र असल समाज निर्माणसम्बन्धी विषयलाई प्राथमिकता दिइँदै आएको छ।
कार्यक्रममा शिक्षा पत्रकार समूहको तर्फबाट हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा पाठ्यपुस्तक बालमैत्री, लैङ्गिकमैत्री छन् वा छैनन्, अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व कसरी गरिएको छ र भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म विश्लेषण गरिएको थियो।
अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले कक्षाकोठामार्फत समाजको प्रतिनिधित्व हुने बताउनुभयो। पाठ्यसामग्री दक्ष र विज्ञ व्यक्तिहरूबाट विभिन्न चरण पार गरेर निर्माण गरिने र प्रत्येक पाठ समावेशी बनाउने प्रयास गरिएको उहाँको भनाइ थियो।
सेभ द चिल्ड्रेनकी सिनियर प्रोग्राम डेभलपमेन्ट एण्ड क्वालिटी एडभाइजर डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच खाडल रहेको उल्लेख गर्दै कार्यान्वयन तहमा पनि चुनौती रहेको बताउनुभयो। उहाँले पाठ्यपुस्तकले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउन नसकेको उल्लेख गर्दै त्यसको परिपूरक सामग्री विकास गर्न सकिने सुझाव दिनुभयो।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तनशील हुन सक्ने भएकाले पाठ्यपुस्तक निर्माणअघि समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमको समापन गर्दै शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गर्दै ती सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिबद्धता जनाउनुभयो।



