धनगढी । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीका दुई समूहबीच भएको सामूहिक झडपमा एक जनाको मृत्यु र ४९ जना घाइते भएपछि कारागार अहिले पनि कैदीहरुको नियन्त्रणमा रहेको छ। झडपपछिको अवस्था बुझ्न पुगेका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल,प्रहरी उपरीक्षक बालनसिंह राणा,सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितलगायतका अधिकारीलाई पनि कैदीहरुले कारागारभित्र पस्न दिएनन्।
हामी अझै कारागारभित्र छिरेका छैनौं, कैदीहरु आक्रोशित छन्। थप घटना नहोस् भनेर पनि हामीले तत्काल प्रवेश नगर्ने निर्णय गरेका छौं,’प्रमुख जिल्ला अधिकारी हमालले बताए । सुरक्षा समितिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरेको छ।
राष्ट्रिय मानवअधिकार आयोगको टोली समेत घटनास्थलसम्म पुग्न सकेको छैन। आयोगका एक अधिकृतका अनुसार कारागार प्रशासनको कार्यालयसम्म मात्र पुग्न पाइएको हो, भित्री भागमा प्रवेश गर्न अनुमति छैन।
मृतक ४० वर्षीय भरत चौधरी (धनगढी उपमहानगरपालिका–४) को शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। घाइते ४९ जनामध्ये अधिकांशको हातखुट्टा भाँचिएका छन्। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरका अनुसार झडपमा फलामे रडको व्यापक प्रयोग भएको छ। एक जनाको शल्यक्रिया भइसकेको छ भने एक जनालाई आईसीयूमा राखिएको छ।
उपचारका लागि अस्पतालको इमरजेन्सीमा स्थान नपुगेपछि केही घाइतेलाई नजिकैको कोभिड–१९ को समयमा बनेको भवनमा सारिएको छ।
घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अधिकृत दिपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्।
समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समय सीमा तोकिएको छ।



