भक्तपुर । सामान्यतया रमाइलो, भोज र उत्सवसँग जोडिने जन्मदिनलाई समाजसेवी रविन्स लामाले सामाजिक उत्तरदायित्वमा बदल्दै भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत २०० भन्दा बढी बिरामीलाई निःशुल्क भोजन गराएका छन्।

सूर्यविनायक नगरपालिका–८ निवासी लामाले आफ्नो जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडितहरूलाई लक्षित गरी निःशुल्क भोजन कार्यक्रमको आयोजना गरेका हुन् । “जन्मदिनमा सकेसम्म सामाजिक काम गर्नुपर्छ भन्ने भावनाले फजुल खर्च गर्नुको सट्टा समाजसेवामा लाग्दा आत्मसन्तुष्टि मिल्छ,” उनले बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा. उज्वल चालिसेले समाजमा व्यक्ति–केन्द्रित सोच बढ्दो अवस्थामा रहेको भन्दै यस्ता कार्यक्रमले सकारात्मक सोचको विकासमा टेवा पुर्याउने बताए। “जन्मदिनलाई केवल उत्सवको रुपमा सीमित नराखी यसलाई अर्थपूर्ण बनाउनु पर्छ भन्ने मान्यताले केक संस्कृतिको विकृति हटाउन मद्दत गर्छ,” डा. चालिसेले बताए ।
त्यसैगरी नर्सिङ प्रमुख लक्ष्मी श्रेष्ठले परोपकार कार्यबाट प्राप्त हुने आत्मसन्तुष्टि संसारका अरू कुनै पनि सन्तुष्टिसँग तुलना गर्न नसकिने बताइन्।
आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई यस्ता कार्यक्रमबाट ठूलो राहत मिल्ने भन्दै बिरामी तथा तिनका परिवारले अस्पताल प्रशासन र रविन्स लामाप्रति आभार प्रकट गरेका थिए।















