काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १६ औं नगरसभाको चौथो बैठकबाट आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ४५ करोड रुपैयाँको बजेट पारित गरिएको छ।
असार ११ गते नगर सभाहलमा बसेको चौथो बैठकले आर्थिक विधेयक, विनियोजन विधेयक र आर्थिक वक्तव्य पारित गरेको हो। ती विधेयकहरू यसअघि तेस्रो बैठकमा प्रस्तुत गरिएका थिए। चौथो बैठकमा ती प्रस्तावमाथि विस्तृत छलफल र सुझाव संकलनपछि पारित गरिएको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेट ३ अर्ब २५ करोड रुपैयाँ रहेकोमा यस वर्ष २० करोड रुपैयाँले वृद्धि भएको छ। बजेटको प्राथमिकता स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा डिजिटल प्रविधिको विकासमा केन्द्रित रहेको जनाइएको छ ।
नगर प्रमुखको नेतृत्वमा पारित बजेट कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै नगरसभा बैठकमा जनप्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए ।














