बुढानीलकण्ठ, । बुढानीलकण्ठ नगरपालिकाले पर्यटन क्षेत्रको सम्भावनालाई उपयोग गर्दै होमस्टे व्यवसाय सञ्चालनमा प्रोत्साहन दिन थालेको छ। नगरभित्र होमस्टे सञ्चालन गर्न चाहने व्यवसायीलाई तालिमपछि प्रमाणपत्र वितरण सुरु गरिएको हो।
२०७९ सालको चैत्र १७ देखि १९ गतेसम्म सम्पन्न तालिममा ५० जना सहभागी भएका थिए। तालिमपछि उनीहरूले सञ्चालन गर्न लागेका होमस्टे व्यवसाय स्थलमै पुगेर नगर उपप्रमुख अनिता लामा नेतृत्वको टोलीले अवलोकन तथा निरीक्षण गर्दै प्रमाणपत्र वितरण गरेको हो।
नगर उपप्रमुख लामाका अनुसार, होमस्टे व्यवसायले नगरको अर्थतन्त्रलाई सबल बनाउनुका साथै स्थानीय संस्कृति र जीवनशैलीलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
नगरपालिकाले आगामी दिनमा थप व्यवसायीलाई दर्ता प्रक्रियामा सहभागी गराउँदै प्राविधिक र व्यवस्थापकीय सहयोग प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ।



