२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

भक्तपुर, दरबार क्षेत्रको बालमन्दिर विद्यालयमा दाजु-बहिनीको प्रेरणादायी सहयोग

भक्तपुर। भक्तपुर, दरबार क्षेत्रको एक कुनामा अवस्थित बालमन्दिर आधारभूत विद्यालयमा मंगलबार बिहानको समय केही विशेष बन्यो। यस विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिकाका लागि त्यो बिहान एक अविस्मरणीय क्षण रह्यो, जब दुई साना भाइबहिनीले उनीहरूको लागि मायाले भरिएको उपहार ल्याए।

काठमाडौंको काँडाघारीबाट आएका लक्ष्यजीत मल्ल र समृद्धि मल्ल नामक दाजु-बहिनीले यी निसहाय बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गरे। लक्ष्यजीत कक्षा ७ मा अध्ययनरत छन् भने समृद्धि कक्षा ५ मा पढ्दैछन्। उनीहरूले किताब, कापी, कलम, झोला, पोशाक, जुत्ता, मोजालगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरे। साथै, नगद रकमसमेत विद्यालयलाई सहयोगस्वरूप प्रदान गरिएको थियो।

विद्यालयकी प्रधानाध्यापक न्हुछेंलक्ष्मी गोरा भन्छिन्, “हाम्रो विद्यालयमा नर्सरी, केजी र कक्षा १ गरी जम्मा २३ जना विद्यार्थी छन्। यी सबै बालबालिकाहरू अनाथ हुन्। उनीहरू विद्यालयमै खान, बस्न, र सुत्न बाध्य छन्। यस्तो अवस्थामा साना बालबालिकाले नै सहयोग गर्ने कुरा अत्यन्त प्रेरणादायक छ।”

कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले साना नानीहरूले नै आफूभन्दा साना भाइबहिनीलाई सहयोग गरेको देखेर आफू निकै भावुक भएको बताए। “यो दान केवल सामग्री मात्र होइन, यो प्रेम, सहानुभूति, र सामाजिक उत्तरदायित्वको एक अनुपम उदाहरण हो,” उनले भने।

oplus_0
समृद्धिले हर्षले भनिन्, “हाम्रो हजुरआमा स्वर्गीय लोचनाकुमारी मल्ल यही विद्यालयकी प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँको सम्झनामा हामीले यो सानो प्रयास गरेका हौं।” लक्ष्यजीतले भने, “आफूभन्दा कमजोरलाई सहयोग गर्दा एउटा अनौठो खुशी मिल्छ। यस्तो कार्यले हाम्रो मनलाई आनन्द दिन्छ।”

विद्यालयका ससाना विद्यार्थीहरू नयाँ झोला, किताब, कापी, र पोशाक पाएपछि निकै उत्साहित देखिन्थे। उनीहरूको नयनमा खुशीको चमक थियो। “अब म पनि राम्रोसँग पढ्न सक्छु,” एक नर्सरी कक्षामा पढ्ने सानो बालिकाले उत्साहित हुँदै भनिन्।

विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमध्वज मोक्तानले यो कार्यक्रम संयोजन गरेका थिए। उनले भने, “बालबालिकाहरूलाई सहयोग गर्ने यो भावना सहरका अन्य बालबालिकाले पनि सिक्न आवश्यक छ। यो संस्कार हाम्रा साना पुस्तामा विकसित गर्नुपर्छ।”

विद्यालयमा हाल प्रधानाध्यापकसहित तीन जना शिक्षक कार्यरत छन्, जसमा दुई जना दृष्टिविहीन शिक्षक पनि छन्। विद्यालयमा बालबालिकाहरूका खानपानको व्यवस्था गर्न एक जना भान्से र दुई जना सहयोगी खटाइएको छ।

यो सहयोगी भावनाले न केवल ती अनाथ बालबालिकाहरूको मनमा आशा जगाएको छ, बरु समाजमा सकारात्मक प्रभाव पार्ने एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। लक्ष्यजीत र समृद्धि जस्ता बालबालिकाहरूले देखाएको यो परोपकारी कार्य सधैं सम्झनलायक रहन्छ।

oplus_0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?