सन्दिप घिमिरे
ललितपुर । अन्तर्राष्ट्रिय खेलकुद संग नजिकवाट समन्वयकारी भूमिकामा रहने नेपाल ओलम्पिक कमिटीका वर्तमान नेतृत्व अहिले राष्ट्रिय खेल वृत्त संग अलग रहेर अछुटको पगरी लगाउन तुल्य भएका छन् ।
यतिबेला नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री, माननीय युवा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बन्धित सरकारी पक्षले चासो लिएर एनओसिको फोहरि चाललाई नजिकवाट नियालि रहेको छ ।
प्राय: हरेक क्षेत्र र विधागत विषयमा अन्तर्राष्ट्रिय मापदण्ड भनेकै दुई कार्यकालको नेतृत्व प्रचलन रहेको छ । यसै मापदण्डलाई अवलम्बन गरेर नेपाल ओलम्पिक कमिटीले आफ्नो विधानमा नै अध्यक्ष दुई कार्यकाल सम्म हुन पाउने प्रावधान उल्लेख गरेको थियो ।
यसै विधान अन्तर्गत दुई कार्यकाल नेतृत्व सकेर ध्रुवबहादुर प्रधान निवर्तमान अध्यक्ष बनेका हुन्। उनी पछिका अध्यक्ष जीवन राम श्रेष्ठले पनि सोही विधानलाई अनुसरण गरि दुई पटक नेतृत्वको कार्यकाल पूरा गरेका छन्। तर विडम्बना उनको मति भ्रष्ट बन्यो र विधान संशोधन गरि तेस्रो कार्यकाल अध्यक्ष बन्ने दाउमा खेलक्षेत्रलाई तहसनहस गर्न खोजिदैछ।
मेरै नेतृत्व र म नै हुँ भन्ने प्रवृत्तिले लामो समयको योगदान माटोमा मिसिन समय लाग्दैन। पद लोलुपताको उच्च पराकाष्ठा जीवन राम श्रेष्ठको जीवनमा कालो बादल छाउन थालेको खेल वृत्तमा व्यापक चर्चा चलिरहेको छ।
नेपाल ओलम्पिक कमिटीको २७ संघका प्रतिनिधि जम्मा गरेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको ध्वाँस जताउदै पद बाँडेर पटक पटक ओलम्पिक कमिटीमा कब्जा जमाइ राख्ने बानी परिसकेको छ। अनेक तिकदम बाजि गरि नेपाल ओलम्पिक कमिटीलाई आफ्नै बिर्ता ठान्ने जीवनराम श्रेष्ठले राष्ट्रको सम्मानमा खलल पुर्याउने दुष्प्रयास विगतमा पनि नगरेका होइनन् ।
राष्ट्रिय खेलकुद बिकास ऐन २०७७ को दफा ३७ को (६) बमोजिम संशोधन तथा निर्वाचन सम्बन्धमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले माग गरेको विवरण सम्बोधन नगरि लत्याइनु नेपाल ओलम्पिक कमिटीले राष्ट्र प्रति अनादर गरेकै ठहरिन्छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल संघहरुलाई ऐनको दफा ३७ (४) बमोजिम सदस्यता माग गरे अनुसार सम्बोधन नगरिएको कारण ४ वटा संघले सम्मानित उच्च अदालत पाटनमा त्यस नेपाल ओलम्पिक कमिटि समेतको विरुद्धमा दिएको परमादेश मुद्दा सम्बन्धमा माननीय न्यायाधीश श्री ब्रजेश प्याकुरेलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।
जस अनुसार सम्मानित अदालतवाट नेपाल ओलम्पिक कमिटीको विशेष साधारण सभा सम्बन्धमा अन्तरिम आदेश मार्फत कुनै काम कारबाही अगाडि नबढाउन निर्देशन भएको थियो। यद्यपि नेपाल ओलम्पिक कमिटिले विशेष साधारण सभा सम्पन्न भएको घोषणा गरेका थिए।
लगत्तै राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयको निर्देशन समेत उलंघन गरि नेपाल ओलम्पिक कमिटिले मिति २०८१ पौष १३ गते वार्षिक साधारण सभा तथा निर्वाचन हुने भनि निर्वाचन सम्बन्धि सूचना सार्वजनिक गर्न भ्याए।
राष्ट्रिय खेलकुद ऐन २०७७ को दफा २२ को (४) बमोजिम आवधिक निर्वाचन नगरेका केहि राष्ट्रिय खेलसंघवाट आफु अनुकुललाई प्रतिनिधि बनाएको, राष्ट्रिय खेलकुद बिकास नियमावली २०७९ अनुरुप संघको स्वीकृत विधान बमोजिम निर्वाचन सम्पन्न गरेका क्रियाशील राष्ट्रिय खेल संघ भन्दा बाहिरका अबैधमनिक ब्यक्तिलाई प्रतिनिधि बनाएको, गत निर्वाचनमा पराजित भई प्रतिनिधि विहिन बनेका ब्यक्तिलाई पनि प्रतिनिधि बनाइ मनोमानी गरेको विरुद्धमा चौतर्फी विरोध चलिरहेको छ।
नेपाल ओलम्पिक कमिटीका वर्तमान समितिले राष्ट्रिय खेलकुद परिषद् , नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, सम्मानित उच्च अदालतको आदेश, आम खेलकर्मीहरुको चाहनालाई लत्याएर गरेका निर्णय र प्रक्रियाको बिषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिलाई समेत सुचित गराइएको थियो ।
यसैबीच सम्मानित अदालतको आदेश विरुद्ध जीवन राम श्रेष्ठले सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म मनोनयन दर्ता गरि निर्वाचनको प्रक्रिया अगाडि बढाउने देखेपछि सोमबार बिहान ७ बजे प्रहरीले गृह प्रशासनको आदेशमा तालाबन्दी गरेको छ।
नेपाल ओलम्पिक कमिटीको प्रवेशद्वारमा प्रवेश रोक लगाएर गतिविधि मै रोक लगाउन प्रयास थाले पनि निर्वाचन संयोजक तथा अधिवक्ता वसन्त बहादुर बस्नेतले ईमेल मार्फत मनोनयन दर्ता गर्न आह्वान गरेका छन्।
पूर्व निर्धारित निर्वाचन तालिकालाई परिवर्तन गरि एनओसिको निर्वाचनका लागि सोमबार राति ११:३० बजे भित्र ईमेल मार्फत मनोनयन दर्ता गर्न सुचना जारी गरेका छन्। उनले उम्मेदवारको पहिलो सुचि मंगलबार बिहान ९:३० बजे जानकारी गराएका छन्।
नियत प्रष्ट छ , प्रत्येक पदमा एक एक जनाको मनोनयन दर्ता हुनेछ र तत्काल निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ। हास्यास्पद ।
नेपाली काँग्रेस पार्टीका खेलकुद विभाग प्रमुख उमेशजङ्ग रायमाझी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का खेलकुद विभाग प्रमुख र नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन लगायतका खेलकुदमा नेतृत्व गरिरहेका संगठनले समेत एनओसिको गलत प्रवृत्ति विरुद्ध खुलेर विरोध गरिरहेको परिपेक्षमा जीवनरामको एकलौटी नाटक कतिञ्जेल लम्बिने हो ! केही दिनमा पर्दाफास हुनेछ नै छ।
कुनै पनि संघ र संगठन राष्ट्रिय हितका लागि निहित हुनु पर्दछ । समग्र राष्ट्र संग जोहरी खेलेर केही प्राप्त गर्ने कल्पना कसैले नगरे हुन्छ। विधि सम्मत , विधानले प्रष्ट्याएको मार्ग अवलम्बन गरि समान अवसर र खुल्ला प्रतिस्पर्धाको माध्ययमवाट नेतृत्व र जिम्मेवारी लिनु सर्वोपरि हित अनि उत्तम वाटो हुने कुरा सबैले मनन गरियोस्।














