काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल आज साँझ ६:३० बजे शुरु हुनेछ ।नेपालले सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउदै फाइनलको यात्रा तय गरको हो । यसैगरी पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरले पाखा लगाउदै बंगलादेशले फाइनलम स्थान बनाएको हो ।
साफ महिला च्याम्पियनशीपको अघिल्लो संस्करणको उपाधिका लागि पनि नेपाल र बंगलादेशबीच नै प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा बंगलादेश विजयी भएको थियो ।
नेपालले हालसम्म साफ महिला उपाधि भने जित्न सकेको छैन् । अब आज बंगलादेशलाई फाइनलमा हराउदै नेपालले अघिल्लो फाइनलको बदलासंगै पहिलो पटक उपाधि जितको इतिहास बनाउने लक्ष्य लिएको छ ।
फाइनल अघिको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यसपटक उपाधि जितेर छाड्ने बताउनुभयो ।
यसैगरी बंगलादेशकी कप्तान सवीना खातुनले नेपालसंगको फाइनल निकै प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ ।
यसैबीच आजको फाइनल प्रतियोगिताको टिकट अखिल नेपाल फुटबल संघ एन्फा आफैंले बिक्री गर्ने जनाएको छ ।
टेन्डर प्रक्रियामार्फत माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले पाएको अधिकार दुरुपयोग गरी रंगशालाको क्षमता भन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले फाइनलको टिकट बेच्ने निर्णय गरेको हो ।














