काठमाडौं । बाढीपहिरो र डुबानमा परी सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको छ।
पछिल्लो तीन दिनमा विपद्मा १९२ ज्यानको गएको विवरण प्राप्त भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। उनका अनुसार, अझै ३० जना हराइरहेका छन्।
त्यस्तै, बाढीपहिरोमा परी १९४ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रवक्ता तिवारीले बताए।
बाढीपहिरोपछिको खोज,उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ। अहिलेसम्म चार हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले बताए।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
यससँगै यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए। बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग भएका छन् ।