कञ्चनपुर, ९ असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका मातहत रहेका व्यवसायिक भवन(सटर)को भाडामा लफडा मच्चिएको छ । दुई दशक अघि पालिकासंग सम्झौता गरेर भवन निर्माण गरेका निर्माण व्यवसायी र अहिले व्यवसाय गर्दै आएका व्यवसायीहरुविच भाडाको विषयमा लफडा मच्चिएको हो । विगतदेखि नै पालिकाले तोकेको भन्दा दोब्बर, तेब्बर भन्दा बढि भाडा अशुल्ने, लाखौँमा सटर बेचबिखन गर्ने प्रवृति अहिलेपनि निरन्तर चलिरहेको भन्दै वास्तविक व्यवसायीहरुर्ला मात्रै सटर दिनुपर्ने माग उठिरहेको छ ।
०५६ सालमा भीमदत्त नगरपालिकाले लक्ष्मीदत्त बोहरालाई २५ सटर निर्माणका लागि ठेक्का दिएको थियो । उतिबेला टिनसेट बनाउने सम्झौता भएपनि टिनसेट दिर्घकालिन नहुने भन्दै ०५८ सालमा पक्की घर निर्माणका लागि सम्झौता गरिएको थियो । २० बर्षका लागि बोहरालाई सटर भाडामा पालिका लगाएको थियो । अहिले अवधी सकिएपनि बोहराले आफ्नो फेरी १० बर्षको अवधि भन्दै दोब्बर बढि भाडा अशुल्न खोजेको भन्दै केही व्यवहारले नगरपालिका गुहारिरहेका छन । भवन निर्माण व्यवसायी बोहराले ०६१ सालदेखि सटर भाडामा लगाएका थिए । पहिलो २० बर्ष सम्झौता सकिएपनि आफुहरुसंग दोब्बर भाडादेखि अतिरिक्त रकम मागिरहेको भन्दै व्यवसायी पालिका धाउन थालेका छन ।
शुरुवाती चरणदेखि नै दोब्बर,तेब्बर भाडा अशुल्ने प्रवृति अझैपनि नरोकिएको भन्दै वास्तविक व्यवसाय गर्ने व्यवसायीहरु असन्तुष्ट भएका छन । व्यवसायी महेश भट्टले आफुले उतिबेला घर निर्माणकै क्रममा ठेकेदार लक्ष्मीदत्त बोहरालाई धरौटी बाफत १लाख ४० हजार दिएको र आफु जस्तै अन्य व्यवसायीले पनि रकम लिएको बताए । ‘उतिबेला हामीसंगै धरौटी रकमदेखि मासिक ३ हजार भाडा लियो, ‘उनले भने, ‘तर, पालिकालाई उनले मासिक ५सय रुपैयामा मात्रै बुझाउथे ।’ २५ सटरमध्ये १५ सटर बोहराले बेचिदिएको र अहिले १० मात्रै सटरको भाडा लिईरहेको उनले बताए । ‘उनको भाडाको अवधि सकियो, तर पनि अहिले १० बर्षको अझै छ, भन्दै हामीलाई दवाव दिईरहेका छन, ‘उनले भने, ‘उतिबेला कर्मचारी, जनप्रतिनिधीसंग सेटिङ्ग गरेर १०बर्ष थप गरेको रहेछ, पहिलो अवधिको सम्झौता नसकिदै फेरी कस्तो सम्झौता हो हामी अचम्मित भएका छौँ ।’अर्का व्यवसायी श्याम ठगुराठीले आफु ०६४सालदेखि बसेको र उतिबेला १लाख ५० हजार धरौटी तिरेर व्यवसायी गरिहेको बताए । ‘उतिबेलादेखि नै लक्ष्मीदत्त बोहराले हामीसंग दोब्बर, तेब्बर भाडा अशुल्दै आएका थिए, ‘उनले भने, ‘चालु आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले ८ हजार निर्धारण गरेपछि बोहराले आफुहरुसंगै १५ हजार भन्दा बढि भाडा मागिरहेका छन, भाडा नदिए कोठा खाली गर्न दवाव दिईरहेका छन, हामी गरिखाने वर्गमाथि अन्याय भयो ।’ उनले पालिकाले तोकेको भाडा तिर्न तयार रहेको उनले बताए । ‘पालिकाले तोकेको भन्दा केही अतिरिक्त भाडा दिन तयार छौँ, तर दोब्बर भाडा लिने अवस्था छैन, कोरोना महामारी कालपछि यता आर्थिक संकटले कारोबारपनि ठप्प छ ।’ उनले उतिबेला लक्ष्मीदत्त बोहराले आफुहरुसंग २० बर्ष भएपछि उक्त कोठा तपाईहरुकै नाममा हुने भन्दै आश्वासन दिएको तर, अहिले आएर आफ्नो थप १० बर्षको सम्झौता भएको, आफुले चालु आर्थिक बर्षको नगरपालिकालाई अग्रीम भाडापनि तिरिसकेकाले दोब्बर नदिए हट्न चेतावनी दिईरहेका छन ।’ भीमदत्त नगरका जनप्रतिनिधी जिम्मेबार काँग्रेस नेता समेत रहेका लक्ष्मीदत्त बोहराले हामीपनि काँग्रेसकै कार्यकर्तामाथि यस्तो आर्थिक अन्याय गरिरहेको उनले दुखेसो छ ।
अर्का व्यवसायी हिम्मत ठगुराठीले पालिकाले तोकेको भाडा तिर्न समस्या नहुने भन्दै घरभाडा लिएका लक्ष्मीदत्त बोहराले दोब्बर बढि भाडा लिन खोजेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सृजना भएको बताए । ‘हामीलाई उतिबेला बसाल्नेबेला २० बर्षको आफ्नो सम्झौता भएको ढुक्क भएर व्यवसाय गर्न भन्यो, पछि उक्त सटर तपाईकै नाममा हालिदिन्छु भन्यो, ‘उनले भने, ‘आज आएको पहिलो २० बर्ष सकिएको तर, कार्यालयमै नभएको सम्झौता पत्र घरबाट ल्याएर १० बर्ष थप भन्दै देखाईरहेका छन, हामीमाथि यति छलकपट भयो ।’ आफुहरु पिर मर्कामा परेको भन्दै पटक पटक स्थानीय सरकारका जनप्रतिनिधीसंग भेटघाट गरेर निवेदन दिदा समेत कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । भीमदत्त नगरका उक्त सटरहरुमा विचौलियाको रजाई रहेको भन्दै उनीहरुको छानबिन गर्न माग अघि सारेका छन ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले भीमदत्त नगरपालिका स्थानीय सरकारको सार्वजनिक सम्पत्तीमाथि केही व्यक्ति समुहको कब्जामा रहेको बताए । ‘पहिलो पटकको सम्झौताको म्याद नसकिदै शुरुमै थप्ने, त्यो पनि निर्णय बिनै यतिसम्म पनि राज्यको सम्पत्ती दोहन हुँदा सम्बन्धीत निकाय किन चुपचाप बसेको होला, ‘उनले भने, ‘यहाँ नीतिगतदेखि प्रशासनिक रुपमा अनियमितता भएको देखिन्छ, यसमा छानबिन गर्दै राज्यले आफ्नो सम्पत्ती स्वामित्वमा लिएर पारदर्शी रुपमा लिलाम बढाबढमा सटर भाडामा लगाउनुपर्छ ।’ एकै व्यक्तिलाई २० देखि ३० बर्षका लागि भाडामा लिने, तिनै व्यक्तिका नाममा रहेको सटर अर्का व्यक्तिले व्यवसाय गर्ने व्यवसाय गर्दा लाखौँ रकममा सरकारी सम्पत्ती बेचबिखन गर्ने परिपाटीले राज्यको सम्पतीमाथि दोहन भएको भन्दै यस्ता कार्यको छानबिन हुनुपर्ने भट्टको सुझाव छ । सटरनिर्माणकर्ता लक्ष्मीदत्त बोहराले भाडाको विषयमा कुनै विवाद, अनियमितता नभएको दावि गरेका छन । उनले आफुले ०५८सालमै २५सटर निर्माणका क्रममा पुरक सम्झौता गरेको बताउँदै आफ्नो म्याद अझै १० बर्ष रहेको बताए ।
‘उतिबेला टिनसेटका सटर निर्माण गर्दा दीगो नहुने प्राविधिकको सुझाव अनुरुप पालिकाले मंसंग पक्की बनाउन आग्रह गरेपछि पक्की बनाउँदा लाग्ने तेब्बर खर्च बाफत थप १० बर्ष म्याद थप्ने सम्झौता गरेको थियो, ‘उनले भने, ‘उतिबेला स्व. सुर्य बहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द र आफुविच थप १० बर्ष सम्झौता भएको थियो ।’ पुरक सम्झौता भएको सम्झौता पत्र र रेडर्क पालिकामा छैन, कतै सेटिङ्ग गरेर सम्झौता अवधि बढाएको त होईन ? भन्ने प्रशनमा उनले लागत अनुरुप अवधि बढाएको बताए ।
बोहराले आफुले १५ सटर नबेचेको दावि गर्दै चिठामा परेका बाँकी १५ जनालाई फिर्ता गरिदिएको बताए । आफुले चालु आर्थिक बर्षको अग्रीम भाडा समेत नगरपालिकालाई बुझाएको र लगानी अशुल गर्नका लागि मात्रै भाडा बृद्धि गरेको उनको भनाई छ । ‘मैले कसैलाई लाखौँमा सटर बेचेको पनि छैन, त्यो हल्ला मात्रै हो, ‘केही मान्छेले मबाट भाडामा लिएर अरुलाई लाखौँमा बेचेको सुनेको छु, सरकारको सम्पत्ती कसैको नाममा नामसारीपनि हुँदैन ।’ भीमदत्त नगरपालिका सुचना अधिकारी एव प्रशासकीय अधिकृत हरिसिह धामीले लक्ष्मीदत्त बोहराका नाममा रहेका सटरको म्याद भएको बताए । ‘सटर निर्माणकै क्रममा बोहरा जीले पुरक सम्झौता गरेका रहेछन, ‘उनले भने, ‘अवधि छदैछ ।’ भीमदत्त नगरपालिका मातहत रहेका व्यवसायिक भवन पहुँचवाला व्यक्तिले आफ्ना र नातेदारका नाममा हालेको भन्दै स्थानीयले उक्त सरकारी सम्पत्ती दुरुपयोगमाथि छानबिन गर्नुपर्ने माग उठाईरहेका छन ।स्थानीयले जुन व्यक्तिले उद्यम, व्यवसाय गर्दा उसैसंग पालिकाले सम्झौता गर्नुपर्ने, उसले व्यवसाय छाडेका दिन स्वत अर्को व्यक्तिसंग सम्झौता गरेर नियमित भाडा पारदर्शी रुपमा उठाउनुपर्ने सुझाव दिएका छन । युवा व्यवसायी सष्टी जोराले कोरोना महामारीपछि मुलुकमा आर्थिक संकट परिरहेका बेला व्यवसायीमाथि परेको संकटको मौका छोपेर भाडामा अन्याय गर्न नहुने बताए । युवा व्यवसायी जोराले व्यवसायी संकट र पलायन भईरहेका बेला सरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।
उनले सटरवाला व्यवसायीसंग भीमदत्त नगरका मेयर पदम बोगटीले उक्त विषयमा सम्बन्धीत सम्झौतावाला व्यक्तिसंग बुझेर व्यवसायीका पिर मर्का सम्बोधन गर्ने आवश्वासन दिएको बताए ।