काठमाडौं । सामोआका ब्याट्सम्यान ड्यारियस भिसेले भानुआटुविरुद्ध एकै ओभरमा ६ छक्कासहित ३९ रन बनाएका छन् । टी–२० विश्वकपको पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटको खेलमा उनले ३९ रन बनाएका हुन् ।
टी–२० आई इतिहासमा एक ओभरमा बनेको यो सबैभन्दा धेरै रन हो। योसँगै उनले एक ओभरमा पाँच पटक बनाइएको ३६ रनको आँकडा पार गरे ।
यो कीर्तिमान सामोआको इनिङ्सको १५ औं ओभरमा बनेको थियो,जसमा तीन नो बल पनि समावेश थिए। यसअघि टी–२० आई इतिहासमा भारतका युवराज सिंह,इङ्ल्यान्डका स्टुअर्ट ब्रोड,वेस्ट इन्डिजका केरोन पोलार्डल र नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
अन्य दुईपल्ट एउटै ओभरमा ६ छक्का प्रहार नभएपनि अतिरिक्त बलको मद्दतले टोलीको स्कोर एक ओभरमा ३६ रनले बढेको इतिहास भने छ। वेस्ट इन्डिजको इनिङ्समा निकोलस पूरनले टी–२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दा एकै ओभरमा ३६ रन बनाएका थिए। २०२४ मा भारतीय कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध पनि मिलेर यो कीर्तिमान बनाएका थिए ।
सामोआका लागि टी–२० मा शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भिसे बनेका छन् । उनले आफ्नो इनिङ्समा १४ छक्का प्रहार गरे,जुन एक इनिङमा ब्याट्सम्यानले सर्वाधिक छक्का प्रहार गर्नेको सूचीमा पाँचौं स्थानमा छ । भिसेले टिमको कुल १७४ रनमध्ये १३२ रन बनाएको थियो । सामोआले खेल १० रनले जित्यो भने बलिङ गर्दा भिसेले एक विकेट पनि लिए ।