राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियो प्रयोग गरेर आफूविरुद्ध भ्रामक प्रचार गरिएको भन्दै प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्।
संसद्मा बोल्दै शाहीले आफूले जीवनमा कहिल्यै मदिरा सेवन नगरेको दाबी गरे। उनले स्वास्थ्य परीक्षणमार्फत शरीरमा मदिराको अंश भेटिए वा उक्त भिडियो आफ्नो प्रमाणित भए सांसद पद त्यागेर राजनीतिबाटै संन्यास लिने घोषणा गरे।
गलत र भ्रामक सूचनाका कारण भीमसेन थापाले भोगेको नियति सम्झिँदै उनले आफूविरुद्ध यस्तो षड्यन्त्र रचिएको बताए। उनले चरित्रहत्या गर्नेहरूलाई तुरुन्त कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका छन्।














