काठमाडौँ । कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीलाई प्रहरी पक्राउ गर्न जाँदा शुक्रवार बेलुका पशुपतिनाथ कोटीहोम स्थलमा भएको झडपबारे छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ।
प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै प्रहरीले सोधपुछका लागि शुक्रवार बेलुका १० बजे नियन्त्रणमा लिन खोजेको बेला झडप भएको थियो ।
उक्त झडपबारे शनिवार दिउस जिल्ला प्रशासन कार्यालयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त रजौरेसहित छलफल भएको भइ छानविन समिति पनि गठन गरिएको थियो ।
छलफलपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।
छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी गङ्गा पौडेल, सशस्त्र प्रहरी बलका डिएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं र कोटीहोम आयोजक मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य राखिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुपम पौडेल सदस्य सचिव छन्।
समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रवार राति भएको घटनाबारे स्थलगत अध्ययन र छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको बताइएको छ।