२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारीमा बबन्डर

धनगढी, । किसानलाई ७५ प्रतिशत अनुदानमा पावर ट्रिलर दिने सर्तमा गुपचुपमा पालिका छिरेको सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारी गाउँपालिकामा बबन्डर मच्चिएको छ । एक लाख रुपियाँदेखि एक लाख २५ हजारसम्म दिएका किसानले पावर ट्रिलर नपाएपछि बबन्डर मच्चिएको हो । गाउँपालिका कार्यालयबाट पूर्वसहमति नलिई सो संस्थाले स्थानीय सहकारी र व्यक्तिमार्फत किसानबाट पैसा उठाएको थियो ।

किसानलाई पावर ट्रिलर दिनका लागि स्थानीय बाल सशक्तीकरण नामक संस्थासँग सहकार्य गरेको जनाइएको छ । त्यस कार्यका लागि बाल सशक्तीकरणले सहकारीसँग सम्झौता गरेर सहकारीमार्फत किसानसँग पैसा उठाउन लगाएको थियो । सुरोले ७५ प्रतिशत अनुदान दिँदा किसानले बाँकी व्यहोर्नु पर्ने भन्दै २५ प्रतिशत रकम बराबर ५८ हजार ७५० रुपियाँ हुने भनिए पनि सहकारीले भने किसानबाट एक लाख १७ हजार रुपियाँको दरले पैसा उठाएको कैलारी गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।

कालीमाई बहुउद्देश्यीय सहकारीले २३१ किसानबाट पावर ट्रिलरका लागि दुई करोड ६९ लाख ५३ हजार, ४५५ किसानबाट सिँचाइ मोटरका लागि ५४ लाख ५२ हजार गरी तीन करोड २४ लाख पाँच हजार रुपियाँ उठाएको छ । यसै गरी अखुवा कृषि सहकारी संस्थाले ५९ किसानबाट पावर ट्रिलरका लागि ६९ लाख ३२ हजार र ३८ किसानबाट सिँचाइ मोटरका लागि चार लाख ५६ हजार गरी ७३ लाख ८८ हजार पाँच सय रुपियाँ उठाएको थियो ।

यस्तै स्थानीय शिक्षक विनोद चौधरीले एक लाखका दरले ९५ किसानबाट ९५ लाख, रामशरण महतोले २५ जना कृषकबाट एक लाख २५ हजारका दरले कुल ३१ लाख २५ हजार रुपियाँ उठाउनुभएको पाइएको छ । वडा नम्बर ५ का शङ्कर चौधरीले एक लाख २० हजारका दरले २२ किसानबाट २६ लाख ४० हजार उठाएको कैलारी गाउँपालिकाबाट प्राप्त तमसुक कागजमा उल्लेख छ ।

गाउँपालिकाका सूचना अधिकारी यगम कलेलका अनुसार कुनै सामाजिक सङ्घ संस्था पालिकामा काम गर्न आउँदा स्थानीय सरकारबाट पूर्वसहमति लिई सूचीकृत हुनु पर्छ तर सुरो नेपालले त्यसको विपरीत पालिकालाई नै छलेर अनुदानमा पावर ट्रिलर दिने नाममा सयाँै किसानबाट पैसा उठाएको रहेछ । किसानले २५ प्रतिशत मात्रै रकम तिरेमा पावर ट्रिलर पाउने कुरा नै अविश्वसनीय रहेको र सुरोले सीमित पालिकालाई मात्रै यस कार्यका लागि रोज्नु अनुसन्धानको विषय रहेको कलेलको भनाइ छ ।

किसानको रकम व्यक्तिको खातामा

किसानबाट उठाइएको २५ प्रतिशत बराबरको रकम सुरो नेपाल संस्थाका अध्यक्ष सुशीला खड्का ओझाको व्यक्तिगत खातामा जम्मा गरिएको छ । पावर ट्रिलर पाउने आशामा पैसा तिरेका किसानले खेतीपाती सकिँदासम्म अनुदानको पावर ट्रिलर नपाएपछि यो घटना बाहिरिएको हो । पावर ट्रिलरको नाममा किसान ठगिएको हल्लीखल्लीपछि बिचौलियाको काम गरेका सहकारी र व्यक्तिले किसानलाई पैसा फिर्ता गर्न बाध्य भएका छन् ।

कालीमाई सहकारीले किसानको पैसा फिर्ता गरिसकेको र अखुवाले पनि पैसा फिर्ता गरिरहेको जनाइएको छ । यसै गरी किसानबाट पैसा उठाएको देखिएका तिनै जना स्थानीय व्यक्तिले पनि पैसा फिर्ता गर्ने कागज गरेका छन् । करिब ७५ प्रतिशत किसानको पैसा फिर्ता भइसकेको र बाँकी किसानले पनि छिट्टै पैसा पाउने गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनुभयो ।

कृषि उपकरण तथा सामग्री अनुदानमा पाउने भनिएपछि स्थानीय किसानले ऋण सापट निकालेर पैसा बुझाएका थिए तर अनुदानमा किसानलाई पावर ट्रिलर दिने संस्थाको उद्देश्य राम्रो भए पनि नियत ठिक नदेखिएको अध्यक्ष चौधरीको बुझाइ छ ।

“मैले सुरो नेपालका अध्यक्षलाई तपाईंको कार्यक्रम के हो, डोनर को हो, सबै डकुमेन्ट देखाउनु भन्दा उहाँले देखाउन चाहनुभएन । संस्थाको वैधानिकतामाथि नै शङ्का लागेको छ,” उहाँले भन्नुभयो, “अब यस्तालाई कारबाही गर्नु पर्छ ।”

किसानबाट पैसा उठाएका भनिएका शङ्कर चौधरीले आफूले पैसा नउठाई सम्बन्धित ठाउँसम्म पुग्नका लागि किसानलाई सहजीकरण मात्रै गरिदिएको दाबी गर्नुभएको छ । “मैले किसानलाई सहजीकरण मात्रै गरिदिएको हुँ,” उहाँले भन्नुभयो, “कसैको एक रुपियाँ पनि लिएको छैन ।”

सुरो नेपालका अध्यक्ष खड्का ओझाले किसानको हितमा काम गर्न खोज्दाखोज्दै प्रक्रियागत रूपमा चुकेको स्विकार्नुभयो । “पालिकाबाट पूर्वसहमति लिएर सूचीकृत भई जानु पर्दथ्यो, त्यसमा हामी चुकेकै हो,” उहाँले भन्नुभयो, “अहिले कार्यक्रम रोकेर सबै किसानलाई पैसा फिर्ता गरिरहेका छौँ ।”

किसानबाट बढी पैसा उठाएर बिचौलियाले खाएका कारण समस्या निम्तिएको खड्काको जिकिर छ । “बिचौलियाले पैसामा बदमासी गरेपछि मैले नै यो कुरा बाहिर ल्याएकी हुँ ।” उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पावर ट्रिलर ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।
गोर्खा पत्र बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?