काठमाडौँ । उपत्यकाका अधिकांश स्थानमा भारी तथा एक ठाउँमा धेरै भारी वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहान ८ बजेर ९ मिनेटमा दिएको विवरणअनुसार २४ घण्टामा उपत्यकको एक स्थामा धेरै भारी अर्थात् सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ। काठमाडौँको धापपड्याम वर्षा मापन केन्द्रमा १०८ मिलिमिटर वर्षा मापन भएको हो ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज रातभर वर्षा भएको थियो ।
आज बिहान त्यस्तै ६ बजेतिर उपत्यकामा वर्षा रोकिएको होला’,उनले भने,‘काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भएको छ ।
महाशाखाको विवरणअनुसार काठमाडौँको बूढानीलकण्ठमा विगत २४ घण्टामा ९० मिलिमिटर वर्षा भएको छ भने दोस्रोमा भक्तपुरको नगरेकोटमा ८३.२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै ललितपुरको गोदावरीमा ७६ . ४ मिलिमिटर वर्षा भएको छ भने यसपछि काठमाडौँको कपनमा ७४ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी ललितपुरको टिकाथलीमा ६७.४ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा ६५ मिलिमिटर,बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर तथा सुन्दरीजलमा ६०.६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै सो अवधिमा भक्तपुरको ताथलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ भने ललितपुरको ५७.४ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख गरिएको छ।
यी मौसम महाशाखाले वर्षा मापन केन्द्र राखेका स्थान हुन् ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथिको वर्षा भयो भने त्यसलाई भारी वर्ष भनिन्छ भने सय मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई धेरै भारी वर्षा भनिन्छ ।