काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका – ४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।
चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेल अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ,’उनले भने ।
खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए।
गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ
।
रासस