काठमाडौ । पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले निर्माण हुन लागेको कैलालीको चिसापानी- राजकाँडा- जालपा केवलकार परियोजनामा स्थानीय जनताको शेयर सुनिस्चित गर्न माग गरिएको छ।नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितिको तर्फबाट अर्थमन्त्रीलाई बुधबार पेश गरिएको ९ बुदे ज्ञापनपत्र मार्फत स्थानीय जनताको अग्राधिकारको बिषयलाई ध्यान दिदै उनीहरुलाई निश्चित प्रतिशत शेयर दिनुपर्ने माग गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रण्बीर´,पोलिट ब्युरो सदस्य विकल्प सी, केन्द्रिय सदस्य एवम् सभासद डबल बहादुर सी, केन्द्रिय सदस्यहरु समर सी, मिना सी, प्रकाश सी र दर्शन सी सहितको हस्ताक्षरित ज्ञापनपत्रमा आगामी आर्थिक बर्षमा सुदुरपश्चिमका बिकास निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ।
९ बुदे ज्ञापनपत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८० पारित हुनुपर्ने,सेती लोकमार्ग र महाकाली करिडोर निर्माणको काममा तीव्रता दिनुपर्ने,कैलालीको पहलमानपुरमा अवस्थित ३ हजार मेट्रीक टन क्षमताको सुदुरपश्चिम शीतगृह संरक्षण गरिनुपर्ने, खप्तड, बडिमालिका,रामारोशन र अपि साइपाल जस्ता पर्यटकीय क्षेत्रको पुर्बाधार निर्माण गरिनुपर्ने, पश्चिम सेती, बुढीगङ्गा हाइड्रो र बेतन कर्णालीको काममा गति प्रदान गरिनुपर्ने माग गरिएको छ।
त्यस्तै,कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका भुमिहिन सुकुम्बासीको बैकल्पिक व्यवस्था नगरी विस्थापित गर्न रोक्नुपर्ने, दलितमाथिको भेदभाव र छुवाछूत उन्मुलन गर्न, महिला र थारु समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने र सरकारले योजनाहरुको छनौट र बजेट बिनियोजन गर्दा राजनीतिक शक्तिका आधारमा गरिने भागबण्डा रोक्नुपर्ने लगायतका माग गरिएको छ।