काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित १ सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा आयोगले उक्त मुद्दा दायर गरेको हो ।
दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने ३ सय ९७ रोपनी ८ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको आयोगले जनाएको छ । सो जग्गा व्यक्तिविशेषका नाममा घुसाइ न्यूनतम मूल्याङ्कन ३४ करोड ६६ लाख ५४ हजार ८ सय ४९ रुपैयाँ कायम हुन आउने देखिएको छ ।
सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय चन्द्रगढी झापाका कर्मचारी १०, मालपोत कार्यालय दमकका ११ कर्मचारी, नापी कार्यालय दमक झापाका ७, सरकारी जग्गा हालसाबिक गरी दर्ता गर्ने ३६ र बिगो असुल तथा जग्गा फिर्ता लिने प्रयोजनाका लागि १ सय ८ जना गरी कूल १ सय ७२ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी प्रमुख स्व शशिकान्त झा र निजको श्रीमती अनारदेवी झाविरुद्ध ३० करोड २ लाख ७१ हजार ९ सय २६ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । सोही कार्यालयका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकमार न्यौपानेविरुद्ध २ लाख ३ हजार १ सय ५ रुपैयाँ, प्रमुख नापी अधिकृत स्व संसारनाथ पाण्डे र निजको श्रीमती सावित्री पाण्डेयविरुद्ध ६७ हजार ७ सय ७ रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।