महेन्द्रनगर , पौष २३ : कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाहरूमा विपत व्यवस्थापन शाखाले तालिम सुरु गरेको छ । नगरपालिकाको वन वातावरण फोहोर मैले तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा विभिन्न वडाहरूमा तालिम सुरु गरेको हो । सोमबार भीनपा वडा नं २ र १९ को संयुक्त रुपमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको तालिम सम्पन्न गरेको हो ।
गाउँ समाजमा घट्ने विपद् नियन्त्रण कसरी गर्ने र विपद् संग कसरी जुध्ने भन्ने विषयमा नागरिकहरुलाई प्रशिक्षित गरिरहेको नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले बताए । उनले भने ,“ विपद्का बेला एकल महिला , जेष्ठ नागरिक लगायतका अन्य नागरिकलाई विपद्को जोखिमबाट कसरी बचाउन सकिन्छ भनेर यो कार्यक्रम गरिरहेका छौं ।”विपदबाट बच्नुको लागि कसरी सचेतता अपनाउने , विपद्को पूर्व तयारीमा के गर्ने , क्षति कम हुन दिन के के विषयमा ध्यान दिनुपर्छ भन्ने कुरालाई केन्द्रमा राखी तालिम गरिरहेको शाखा प्रमुख भट्टले बताए ।
सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद् सम्बन्धी जानकारी गराउन तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक हिमालय थापाले बताए । विपद्को न्यूनीकरण गर्नका लागि सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको भूमिका के हुने भन्ने कुरा तालिमका क्रममा सिकाइ रहेको थापाको भनाई छ ।
नगरपालिकाको सबै वडाहरूमा विपद् व्यवस्थापनबारे तालिम सञ्चालन हुने शाखा प्रमुख भट्टले बताएका छन् ।