डडेलधुरा : राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिका अनुसार खेलकुद क्षेत्र लाई मध्यनजर गर्दै राष्ट्रपति रनिङ शिल्डको रौनक जताततै सुरु भएका छन् ।
गाउँपालिकाको आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गन्यापधुरा–५ स्थित सीताराम माध्यमिक विद्यालय रेलको प्राङ्गणमा पालिकास्तरीय रनिङ शिल्ड सुरु भएको हो।
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा पनि उक्त प्रतियोगिता सुरु भएका छन् । बुधबार एक कार्यक्रमको आयोजनाका साथ डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गर्नु भएको छ।
उद्धघाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले विद्यालयस्तर बाट खेलकुदको विकास हुन र खेलाडी लाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन्। उनले भन्नू भयो,’वर्षको एकदुई दिन मात्रै खेलकुद लाई नहेरी निरन्तर स्वस्थ्य जिवनका लागि विद्यालयले खेलकुदका गतिविधि नियमितरूपमै सञ्चालन गर्नुपर्ने र असल खेलाडीको पहिचान गर्नमा जोड दिनु पर्ने बताइन्।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, डडेलधुरा बहुमुखी क्याम्पस का स्व.ब्यु सभापति दुर्गा पर्साद भट्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ। यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाका ७ विद्यालयको सहमागिता रहेको छ। प्रतियोगिता आज पौष १८ देखि १९ गते सम्म सञ्चालन हुने छ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायत खेल सहभागी छन्। पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन् ।