कञ्चनपुर, पौष १ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारी फाँटामा स्थित श्री बैजनाथ आधारभूत विद्यालयको ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आईतबार शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महराको प्रमुख आथित्यतामा विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव समारोहमा सम्पन्न भएको हो । समारोहमा विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्रा मञ्जु महराले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा प्रमुख अथिति शुक्लाफाँटा नगर प्रमुख रण बहादुर महराले विद्यालयको शैक्षिक सुधार गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताए । शैक्षिक क्षेत्रमा गुणस्तरीयता दिन नेतृत्व गर्ने व्यक्तिको महत्वपुर्ण भूमिका रहने र यस विद्यालयले त्यस्तो सक्षम नेतृत्व पाएको नगर प्रमुखले बताएका छन् । वडामा शिक्षा क्षेत्र लगायत अन्य पर्यटकीय तथा विकास निर्माणको कार्यमा हामीले काम गर्दै आएका छौं र आगामी दिनमा यस क्षेत्रलाई थप प्राथमिकतामा दिइने छ , नगर प्रमुख महराले बताए ।
वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथि रहेका शुक्लाफाँटा ८ का वडा अध्यक्ष बहादुर सिंह महराले विद्यालयको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धि गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । वडा अध्यक्ष महराले विद्यालयमा कक्षा ८ सम्म अङ्ग्रेजी माध्ययमबाट पढाइ हुने प्रबन्ध मिलाउन पहल गरिने जनाएका छन् । विद्यालयमा स्रोत साधन उपलब्ध गराउने र शिक्षकको तालिम प्रशिक्षणको गर्नका लागि म आफ्नो वडाको तर्फबाट सरोकारवाला संग पहलकदमी लिने छौं , उनले भने । साथै विकास तथा निर्माणको कार्यमा सबै राजनीतिक नेतृत्वले मिलेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
बैजनाथ आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक पदम साउदले विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्नका लागि अङ्ग्रेजी माध्यमबाट पढाइको सुरुवात गरिएको बताए । सहायक प्रधानाध्यापक साउदले भने , “ अहिले यस विद्यालयमा कक्षा ८ सम्म मात्रै पढाइ हुँदै आएको छ । यसलाई मावि तहसम्म पुर्याउनको लागि थप स्रोत साधन र भवन आबस्यक रहेको छ त्यसतर्फ सरकारले ध्यान दिनु आवस्यक छ ।” बर्सेनि विद्यालयको शैक्षिक प्रगति सुधारोन्मुख रहेको विद्यालयले जनाएको छ ।
वार्षिकोत्सव समारोहमा विद्यालयका विभिन्न विद्यार्थीहरू खेलमा उत्कृष्ठ भएबाफत पुरस्कृत भएका छन् ।विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अकबर सिंह बोहोराको अध्यक्षतामा भएको विद्यालयको सो वार्षिकोत्सव समारोहमा जनप्रतिनिधि , समाजसेवी, बुद्धिजीवी , शिक्षक , अभिभावक तथा विद्यार्थीहरुको सहभागितामा विभिन्न सांगीतिक कार्यक्रमको सहित भव्यताका साथ सम्पन्न भएको छ ।
२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३३८ जना विद्यार्थी अध्ययनरत रहेका छन ।