काठमाडौं। प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईँलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ? भन्दै दीपशिखाले स्वतन्त्र सांसद अमरेश कुमारसिंह लाई प्रश्न सहितको चेतावनी दिएका छन् ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबीलाई प्रमाणसहित एक हप्ताभित्र सार्वजनिक गर्न माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले चुनौती दिएका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसिएल इन्चार्ज समेत रहेका दीपशिखाले‘प्रमाणसहित सार्वजनिक नगरे नाङ्गै पारेर दौडाउन पाइ कि नपाई ? भन्दै प्रश्न गरेका छन् ।
सांसद अमरेशकुमार सिंहले केही दिन अघि ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गङा दहालले कुन–कुन व्यापारी सङ कुन–कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षीत छ। समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’ भन्दै सामाजिक सञ्जालमा आफ्नो स्टाटस राखेका थिए।
यसअघि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको मिलेमतो नरहेको स्पष्ट पारेको थियो। केही दिनअघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना प्रधानमन्त्री र उनका परिवारको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरेको भन्दै सचिवालयले गम्भीर आपत्ति जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस् सामान्य संवादसम्म पनि नभएको स्पष्ट पारेको छ। सचिवालयले कुनै तथ्य प्रमाणबिना यस प्रकारका झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।