काठमाडौं । संयुक्त विद्यार्थी संगठनले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता र सम्वादका माध्यमबाट शिक्षकका माग सम्बोधन गरी
तत्काल देशभरका ७० लाख विद्यार्थीको पठनपाठन सुचारु हुने वार्तावरण श्रृजना गर्न माग समेत गरेका छन् ।
‘प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा व्यवस्था भएका केही प्रावधानहरु अन्यायपूर्ण भएको भन्दै देशभरका शिक्षक आन्दोलित हुनुपर्ने अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विद्यार्थीले भनेका छन्, ‘सबै पक्षको सहभागितामा वार्ता गरी शिक्षकका जायज माग सम्बोधन हुनुपर्छ।’
बालबालिकालाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षक नै आन्दोलनमा उत्रिनुपर्ने अप्रिय अवस्था आउनु दुखद भएको भन्दै विद्यार्थी संगठनले सबै पक्ष बेलैमा सचेत भई समस्याको निराकरण गर्नुपर्ने बताएका छन्।
संयुक्त विद्यार्थी संगठनका नेताहरुले आफूहरुको समेत सहभागितामा वार्ता गरी शिक्षकका माग दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष आरती लामा, विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी र समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादवको हस्ताक्षर रहेको छ।














