काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले ६ महिनामा ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याएको उपलब्धी देखाएका छन् ।
पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन् ।
‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको । विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’सरकारको उपलब्धी विवरणमा भनिएको छ,‘नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ। फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरूण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको । बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी) को शिलान्यास कार्य सम्पन्न भएको छ ।
त्यस्तै उनले नेपाल-बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल,भारत तथा बंगलादेशबीच विद्युत बिक्री सम्झौता हुने प्रक्रियामा रहेको बताएका छन् ।
सूचना महामार्ग निर्माण कार्यअन्तर्गत हालसम्म १२,२३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको उपलब्धीमा उल्लेख छ ।
७३९ स्थानीय तहमा फोजी सेवा विस्तार भई ६६ प्रतिशत जनतामा पहुँच पुगेको र इन्टरनेट ग्राहकको घनत्व १३२.७६ प्रतिशत पुगेको उनले बताएका छन् ।
कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको उनको भनाइ छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन् ।
भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ ।
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ उपलब्धीको चर्चा ग भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा अनुसन्धानबाट ९ हजार ३ सय ७४ उजुरी फर्छ्यौट गरिएको। आयोगबाट सञ्चालित रङ्गेहात कारवाहीका क्रममा २९ व्यक्ति पक्राउ परेका छन्। भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा ७८ मुद्दा दायर भई रु. १ अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएको छ ।














