दाङ। दाङमा इनार सफा गर्दा निस्सासिएर दुई युवकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँमा इनार सफा गर्ने क्रममा ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले बताएका हुन ।
बुधबार बिहान सरसफाइका लागि यामबहादुर इनारमा पसेका थिए। यामबहादुर नबोलेपछि मुकेश इनारमा पसेका रहेछन्। दुवै जना नबोलेपछि स्थानीयले बिहान ९ बजेतिर खबर गरेका थिए,” प्रहरी निरीक्षक श्रेष्ठले भने, “उद्धार गर्दा दुवै जना अचेत अवस्थामा थिए।”
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उनीहरूलाई इनारबाट बाहिर निकालेको थियो। दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
अहिले दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।














