बझाङ । नेपाल प्रहरीका असई पुस्कल चन्द निलम्बनमा परेका छन् । बझाङ जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा स्थानीयलाई आफ्नो साथमा भएको पेस्तोल पट्काउन दिएको हुँदा चन्दलाई शुक्रवार पदबाट निलम्बन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाह का अनुसार,चन्दले दसैंको समयमा कात्तिक ६ गते आफ्नो पेस्तोल छविसपाथिभेराका पुर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको हो ।
घटना घटेको एक महिना भएपनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियोे। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई तत्काल पदबाट निलम्बन गरेको बझाङ प्रहरी प्रमुख तथा भरत बहादुर शाहले बताए ।
हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए।