काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि काठमाडा केन्द्रित आन्दोलन सुरु गरेको छ । देशभरका शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर आन्दोलन गरिरहेका छन् । विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।
संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।
आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन् । विभिन्न किसिमका नारा लेखिएको ब्यानर र प्लेकार्डसहित शिक्षकहरू माइतीघरमा भेला भई नारा लगाएर आन्दोलन गरिरहेका छन् । जसका कारण उक्त क्षेतमा सवारीसाधन आवागमन प्रभावित बनेको छ ।