बागलुङ । बागलुङमा दुई वटा विद्यालय पहिरोको जोखिममा परेको छन् । केही दिनदेखि परेको अविरल वर्षाको कारण उक्त विद्यालय जोखिममा परेका हुन् ।
जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालय र बडिगाड गाउँपालिका–५ दाँग स्थित थानापति आधारभूत विद्यालय पहिरोको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।
पहिरोले देउराली प्राविको भवनको जगनै बगाउन थालेको छ भने थानापति आधारभूत विद्यालयको खेल मैदान बगाएको छ । अघिल्लो वर्षदेखि पहिरोको जोखिममा परेको देउराली प्रावि अहिले भवननै बग्ने खतरा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।
थानापाती आधारभूत विद्यालयका प्रधानाध्यापक खिमराज घिमिरेका अनुसार पहिरोले खेलमैदान बगाएसँगै विद्यालय भवनहरु जोखिममा परेका छन् । विद्यालय पहिरोका कारण जोखिम मोलेर पठनपाठन गर्न बाध्य भएको उनले बताए । बर्खा सुरु भएपछि दिनदिनै पानी पर्न थालेको भन्दै कति बेला विद्यालय बगाउँछ भन्ने त्रास हुने प्रधानाध्यापक घिमिले भने ।